
श्रमक्षेत्रको पुर्ण डिजिट्लाइजेसन अन्तिम चरणमा – माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीज्यूको दूरदर्शी नेतृत्वमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा यस अन्तर्गतका सम्पूर्ण निकायहरूले प्रदान गर्ने सेवाहरूलाई अझ छिटोछरितो, चुस्त, दुरुस्त, झन्झटरहित, पारदर्शी र जनमुखी बनाउनका लागि सम्पुर्ण “श्रम डिजिटलाइजेसन” अभियान अन्तिम चरणमा पुगेको छ । कतिपय कार्यको सुरुवात पनि भै सकेको छ । कतिपय कार्य द्रुतगतिमा प्रगति उन्मुख रहेको छ । आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै, श्रम क्षेत्रमा सुशासनको प्रत्याभूति गर्न र सेवाग्राही नागरिकलाई सुलभ, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यका साथ यो अभियान अगाडि बढाइएको हो। अब सेवाग्राहीहरूले लामो समय लाइनमा बस्नुपर्ने, अनावश्यक कागजी प्रक्रिया भोग्नुपर्ने वा मध्यस्थको भर पर्नुपर्ने अवस्था अन्त्य हुँदैछ। श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति, श्रम स्वीकृति लगायतका सम्पूर्ण प्रक्रियाहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ। यो कदमले पारदर्शिता मात्र होइन, समय र स्रोतको बचत गर्दै सबै पक्षलाई लाभ पुर्याउने विश्वास लिइएको छ। “श्रम डिजिटलाइजेसन” अभियान सम्पूर्ण श्रमिक वर्ग, रोजगारदाता तथा सेवाग्राहीहरूप्रति मन्त्रालयको प्रतिबद्धताको जीवन्त उदाहरण हो। हामी सबैले मिलेर यो पहललाई सफल बनाऔं — डिजिटल, पारदर्शी र उत्तरदायी सेवा प्रणाली निर्माण गर्दै समृद्ध श्रम क्षेत्रको आधार तयार गरौं।

